धेरै चलखेल तथा बिचौलियाको बिगबिगि रहने सरकारी कार्यलयमा कडाइ गर्दै आएको सरकारले नापी विभागले देशभरका नापी कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको चलखेल रोक्न कडा कदम चालेको छ। विभागले एक सूचना जारी गर्दै अबदेखि नापी कार्यालयहरूमा अनधिकृत व्यक्ति (बिचौलिया) हरूको प्रवेशमा पूर्ण रोक लगाएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनअनुसार विभागले सबै विशेष नापी कार्यालय र नापी कार्यालयहरूलाई परिपत्र गर्दै सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन यस्तो व्यवस्था गरेको हो।
अब परिचयपत्र नदेखाई सेवाग्राही समेतले प्रवेश पाउने छैनन । नापी कार्यालय प्रवेश गर्दा सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्नेछ। परिचय नखुलेका र अनावश्यक व्यक्तिहरूलाई कार्यालयभित्र प्रवेश दिइने छैन।
त्यसैगरी कार्यालयमा कार्यरत कर्मचारीहरूले अनिवार्य रूपमा आफ्नो परिचयपत्र लगाएको हुनुपर्नेछ ताकि सेवाग्राहीले कर्मचारी र बाह्य व्यक्ति सजिलै छुट्याउन सकून्।
सुचनामा भनिएकोछ, अनधिकृत व्यक्तिहरूलाई सरकारी अभिलेख र महत्वपूर्ण कागजातहरूमा पहुँच पुग्न नदिने व्यवस्था मिलाउनु, मन्त्रालय र विभागबाट जुनसुकै बेला पनि कार्यालयको अनुगमन हुन सक्ने र यदि यो व्यवस्था कार्यान्वयन नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर्याई कारबाही गरिने चेतावनी दिइएको छ।
अव यो निर्णयले सर्वसाधारण सेवाग्राहीले झन्झटमुक्त सेवा पाउने र सरकारी काममा पारदर्शिता बढ्ने विश्वास लिइएको छ।

