नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसर प्रवेशमा लगाइएको अवरोध हटाउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। एशोसिएशनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आइतबार एक पत्र लेख्दै विगतमा जस्तै परिचयपत्रका आधारमा सहज प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेको हो।
बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा विगत केही दिनदेखि सिंहदरबारभित्र रहेका प्रशासकीय अदालत लगायतका निकायमा जाने कानुन व्यवसायीहरूलाई प्रवेशमा अवरोध सिर्जना भएको उल्लेख छ। यसअघि प्रशासकीय अदालत लगायतका निकायमा पटक-पटक मौखिक रूपमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बारले लिखित रूपमै प्रधानमन्त्रीलाई गुहारेको हो।
देशभरका ९० वटा एकाइमा आबद्ध कानुन व्यवसायीहरूले सर्वोच्च, उच्च, विशेष, जिल्ला र प्रशासकीय अदालत लगायतका न्यायिक निकायमा पक्षको प्रतिनिधित्व गर्दै उपस्थित हुनुपर्ने बाध्यता रहेको, सिंहदरबार परिसर भित्रका प्रशासकीय अदालत लगायतमा जान खोज्दा कानुन व्यवसायीहरूलाई केही दिनदेखि रोक लगाइएकोले विगतमा जस्तै कानुन व्यवसायीको परिचयपत्रका आधारमा बिना रोकतोक (निर्वाध) सिंहदरबार प्रवेश गर्न पाउने साबिककै व्यवस्था कायम गर्न बारले माग गरेको छ।
नेपाल बारले यो समस्यालाई गम्भीरतापूर्वक लिँदै कानुन व्यवसायीहरूको पेसागत मर्यादा र कार्यसम्पादनमा पर्ने असरलाई मध्यनजर गरि तत्काल समाधान खोज्न सरकारसँग अपिल गरेको छ।

