Kanoon Post
सोमवार, कार्तिक ३०, २०८३
| November 16, 2026 |

आमाबुबालाई नहेर्ने छोराछोरीविरुद्ध मुद्दा गर्न मिल्छ ? यस्तो छ कानूनी व्यवस्था

सन्तानले बेवास्ता गरेमा आमाबुबाले के गर्न सक्छन् ?

User Photo आइतवार, कार्तिक २९, २०८३
काठमाण्डौ ।

जीवनभर आफ्ना छोराछोरीको पालनपोषण, शिक्षा, स्वास्थ्य र भविष्यका लागि संघर्ष गरेका आमाबुबाले बुढेसकालमा आफ्नै सन्तानबाट बेवास्ता सहनुपरेको घटना समाजमा देखिने गरेका छन्। औषधोपचारका लागि आर्थिक सहयोग नपाउने, खानलाउन समस्या हुने तथा छोराछोरीले फोनसमेत नउठाउने अवस्थाले ज्येष्ठ नागरिकको जीवन थप कष्टकर बन्न सक्छ।

तर यस्तो अवस्थामा आमाबुबाले कानूनी उपचार खोज्न सक्छन् कि सक्दैनन्? अंश लिएर छुट्टिएका वा विदेशमा रहेका छोराछोरीले आमाबुबाको हेरचाह गर्नुपर्ने दायित्वबाट छुट पाउँछन् कि पाउँदैनन्?

नेपालको कानूनले यस्ता विषयमा आमाबुबाको अधिकारलाई स्पष्ट रूपमा सम्बोधन गरेको छ।

मुलुकी देवानी संहिता, २०७४ ले प्रत्येक छोरा- छोरीलाई आफ्ना आमाबुबाप्रति सम्मान र हेरचाहको दायित्व तोकेको छ।

छोराछोरीले आमाबुबाको हेरचाह गर्नैपर्ने

मुलुकी देवानी संहिता, २०७४ को दफा १२२ मा प्रत्येक छोरा- छोरीले आफ्ना आमाबुबालाई आदर तथा सम्मानका साथ व्यवहार गर्नुपर्ने व्यवस्था छ।

उक्त दफाको उपदफा (२) अनुसार छोराछोरी आमाबुबासँग एकासगोलमा बसेका हुन् वा कानूनबमोजिम भिन्न भइसकेका हुन्, आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसार आवश्यक हेरचाह, स्याहारसम्भार, औषधोपचार र रेखदेख गर्नुपर्ने हुन्छ।

यसको अर्थ अंश लिएर छुट्टिएको वा विदेशमा रहेको कारण देखाएर आमाबुबाप्रतिको कानूनी दायित्वबाट स्वतः मुक्त हुन सकिँदैन।

आमाबुबालाई खानलाउन र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने

मुलुकी देवानी संहिताको दफा २११ ले सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा र छोरीले एकअर्कालाई आफ्नो इज्जत आमदअनुसार खानलाउन दिनुपर्ने तथा आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

उक्त दायित्व पूरा नगरेमा सम्बन्धित अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्ने व्यवस्था पनि सोही दफामा छ।

त्यसैगरी दफा २१२ अनुसार अंशियारबीच आपसी सहमति भएमा जुनसुकै समयमा अंश लिएर भिन्न हुन सकिन्छ। साथै बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियार एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग-अलग बस्नु उपयुक्त लागेमा अंशबण्डा गरेर छुट्टिन सक्ने व्यवस्था छ।

यसले अंशबण्डाको विषयमा आमाबुबाको अधिकारलाई पनि सम्बोधन गरेको छ।

ज्येष्ठ नागरिकलाई विशेष संरक्षणको संवैधानिक हक

नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ।

यसले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षालाई संवैधानिक हकका रूपमा स्थापित गरेको छ।

बेवास्ता भएमा आमाबुबाले के गर्न सक्छन्?

आमाबुबाले सन्तानबाट आवश्यक हेरचाह, स्याहारसम्भार वा औषधोपचार नपाएको अवस्थामा निम्न उपाय अपनाउन सक्छन्:

– सर्वप्रथम परिवारका सदस्यसँग छलफल गरी समस्या समाधानको प्रयास गर्ने।
– आवश्यक परे वडा कार्यालय वा स्थानीय तहको न्यायिक समितिमार्फत मेलमिलापको पहल गर्ने।
– औषधोपचारका बिल, आर्थिक सहयोग मागेका सन्देश, बेवास्तासम्बन्धी प्रमाण तथा साक्षी सुरक्षित राख्ने।
– मेलमिलापबाट समस्या समाधान नभएमा सम्बन्धित कानूनी व्यवस्थाअनुसार अदालतबाट उपचार खोज्ने।

यस्ता विषयमा कानूनी कारबाही अघि बढाउँदा कुन दफाअन्तर्गत कस्तो दाबी गर्ने भन्ने आधारमा हदम्याद फरक पर्न सक्ने भएकाले कानून व्यवसायीसँग परामर्श लिनु आवश्यक हुन्छ।

सावधानी पुर्वक सम्पत्ति हस्तान्तरण

आमाबुबाले आफ्नो जीवनकालमा छोराछोरीलाई सम्पत्ति हस्तान्तरण गर्दा पनि आवश्यक सावधानी अपनाउनुपर्छ।

छोराछोरीले भविष्यमा हेरचाह गर्छन् भन्ने मौखिक आश्वासनका आधारमा सबै सम्पत्ति एकैपटक हस्तान्तरण गर्दा पछि समस्या उत्पन्न हुन सक्छ। त्यसैले सम्पत्ति हस्तान्तरण गर्नुअघि कानूनी व्यवस्था, आफ्नो आर्थिक सुरक्षा र आवश्यक सर्तबारे स्पष्ट हुनुपर्छ।

आमाबुबाको सेवा गर्नु केवल पारिवारिक संस्कार र नैतिक जिम्मेवारी मात्र नभई कानूनले समेत तोकेको दायित्व हो। त्यसैले छोराछोरीबाट बेवास्ता भोगिरहेका आमाबुबाले सामाजिक लाज वा पारिवारिक दबाबका कारण आफ्नो अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था छैन।

पूरा जानकारीका लागि तलको भिडियो हेर्नुहोला| भिडियो प्रस्तुति: अधिवक्ता निम क्षेत्री

# आमाबुबाको अधिकार # कानूनी जानकारी # छोराछोरीको कानूनी दायित्व # ज्येष्ठ नागरिक # मुलुकी देवानी संहिता

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.