Kanoon Post
सोमवार, फाल्गुन २५, २०८२
| March 8, 2026 |

असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन सभामुख घिमिरेको अपिल

User Photo शुक्रबार, बैशाख १२, २०८२
काठमाण्डौ ।

सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गरेका छन् ।

प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा अपिल गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

‘संसद्को मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानून निर्माण गर्नु नै हो,’ सभामुख घिमिरेले भने, ‘समयमा नै कानुन बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।’

संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने उल्लेख गरे ।

उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे ।

संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुख घिमिरेको भनाइ छ ।

‘प्रभावकारी संसदले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानून बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु,’ सभामुख घिमिरेले भने ।

बजेट अधिवेशनमा संसदको कामको चापलाई ध्यान दिँदै सभामुखले शनिबार र सार्वजनिक बिदाबाहेक संसद सञ्चालन गरेर विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक टुङ्ग्याउने गृहकार्य गरेका छन्

नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामती लगायतका महत्त्वपूर्ण विधेयकलाई अघि बढाउन संसदको आगामी क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।

दुवै विधेयक हाल सम्बन्धित समितिमा रहेकाले संसदमा छलफल गर्ने र पारित गर्ने काम अघि बढ्न सकेको छैन । सभामुखले समितिको प्रतिवेदन आएलगत्तै विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयकलाई सभाबाट पारित गर्ने कार्यसूची तय गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक एवं प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँगको छलफलमा पनि संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका शिक्षा, कर्मचारी, प्रहरी लगायतका विधेयकलाई टुंगोमा नपुर्‍याएसम्म समितिको बैठक निरन्तर सञ्चालन गर्न र सांसदहरूलाई राजधानी बाहिरको कार्यक्रम नराख्ने वातावरण बनाउन निर्देश गरेका छन् ।

निरन्तर हुने छलफलका लागि आवश्यक व्यवस्थापकीय प्रबन्ध गर्न अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ ।

सभामुख घिमिरेको सम्बोधन
माननीय सदस्यहरू
प्रतिनिधि सभाको आजदेखि सुरु भएको अधिवेशन बजेट अधिवेशनका रुपमा पनि चिनिन्छ । तसर्थ, सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानून निर्माणका लागि पनि सफलता प्राप्त हुने विश्वास लिएको छु ।
संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो हो, यहाँ राष्ट्रिय मुद्दाहरूमा बहस गरिन्छ र जनताको चाहना अनुरूप निर्णयहरू लिइन्छन् । संसदको मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानून निर्माण गर्नु नै हो । समयमा नै कानून बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।
संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुर्‍याउँछ । प्रभावकारी संसदले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानून बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु ।

# कानून # प्रतिनिधि सभा # राजनिति

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.