आमाबुबाले जीवनभर कमाएको घरजग्गा छोराछोरीको नाममा हस्तान्तरण गरेपछि उनीहरूबाटै बेवास्ता भोग्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा सम्पत्ति फिर्ता लिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ४०६ अनुसार सम्पत्ति निःशुल्क हस्तान्तरण गर्ने कार्य दान वा बकस हुन सक्छ। कानूनले तत्काल लागू हुने, निश्चित अवधिपछि लागू हुने वा सम्पत्ति दिने व्यक्तिको मृत्युपछि मात्र लागू हुने गरी बकसपत्र गर्न सकिने व्यवस्था गरेको छ।
शेषपछिको बकसपत्रबाट सुरक्षित रहन सकिन्छ
दिने व्यक्तिको मृत्युपछि मात्र प्रभावकारी हुने गरी गरिने बकसपत्रलाई शेषपछिको बकसपत्र भनिन्छ। यसमा बकसपत्र गरेकै आधारमा छोराछोरीको नाममा तत्काल स्वामित्व हस्तान्तरण हुँदैन। दिने व्यक्तिको मृत्युपछि मात्र बकसपत्र प्रभावकारी हुन्छ।
संहिताको दफा ४१० अनुसार शेषपछिको बकसपत्र गर्ने व्यक्तिले सम्बन्धित कार्यालयमा आफैँ उपस्थित भई जुनसुकै समयमा त्यसका सर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्छ।
त्यस्तै, दफा ४११ अनुसार शेषपछिको बकसपत्र लागू हुनुअघि सम्पत्ति पाउने व्यक्तिले दिने व्यक्तिविरुद्ध फौजदारी कसुर गरेको ठहरिएमा त्यस्तो सम्पत्ति प्राप्त गर्न सक्दैन।
एकपटक सम्पत्ति पास गरेपछि फिर्ता लिन मिल्छ?
तत्काल लागू हुने गरी बकसपत्र पारित गरिसकेपछि केवल छोराछोरीले हेरचाह नगरेको कारणले मात्र सम्पत्ति स्वतः फिर्ता हुँदैन। तर दफा ४०९ ले अर्काको सम्पत्ति हस्तान्तरण गरेको, आवश्यक मञ्जुरी नलिएको, असक्षम व्यक्तिले दिएको वा कानूनी प्रक्रिया पूरा नगरेको अवस्थामा दान वा बकस बदर गराउन सकिने व्यवस्था गरेको छ।
अचल सम्पत्तिको शेषपछिको बकसपत्र सम्बन्धित मालपोत कार्यालयबाट पारित गराउनुपर्ने व्यवस्था दफा ४६४ मा छ।
यसैगरी, निजी सम्पत्ति र सगोलको सम्पत्ति हस्तान्तरण गर्दा लागू हुने कानूनी प्रक्रिया फरक हुन सक्छ। सगोलको सम्पत्ति हस्तान्तरण गर्दा कानूनबमोजिम आवश्यक पर्ने अंशियारको मञ्जुरी लिनुपर्छ।
आमाबुबाको हेरचाह गर्नु छोराछोरीको कानूनी दायित्व
मुलुकी देवानी संहिताको दफा १२२ अनुसार प्रत्येक छोरा–छोरीले आफ्ना आमाबुबालाई आदर र सम्मान गर्नुपर्ने तथा आफ्नो आर्थिक र सामाजिक हैसियतअनुसार हेरचाह, स्याहारसम्भार र औषधोपचार गर्नुपर्ने व्यवस्था छ।
अधिवक्ता निम क्षेत्रीले सम्पत्ति हस्तान्तरण गर्नुअघि कानूनी व्यवस्था बुझ्न र सम्भव भएसम्म शेषपछिको बकसपत्रको विकल्पबारे विचार गर्न सुझाव दिएका छन्।
सम्पत्ति हस्तान्तरण गर्दा भावनामा मात्र नभई आफ्नो भविष्यको आर्थिक सुरक्षा र कानूनी अधिकारलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
यससम्बन्धी थप जानकारीका लागि अधिवक्ता निम क्षेत्रीको भिडियो हेर्नुहोस्।
भिडियो: छोराछोरीको नाममा सम्पत्ति पास गर्नुअघि जान्नैपर्ने कानून
प्रस्तुति: अधिवक्ता निम क्षेत्री
