सामाजिक सञ्जाल प्लाटफर्महरू विरुद्ध विभिन्न देशका अनेकौं अड्डा-अदालत र सुनुवाइ समितिहरूमा मुद्दा-मामिलाका चाङ छन् । तिनमा प्रायः गोपनीयता उल्लंघन, घृणास्पद अभिव्यक्ति प्रवाह वा प्रतिस्पर्धाविरोधी नीति अँगालेको जस्ता विषयमा पारदर्शिताको माग गरिएका छन् ।
यसपालि अमेरिकाको लस एन्जलसस्थित काउन्टी सुपेरियर अदालतमा भने अलि फरक प्रकृतिको मुद्दामा गहन सुनुवाइ हुने भएको छ । यसमा फेसबुक, युट्युब, टिकटक, स्न्यापच्याटजस्ता एपले के गरिरहेका छन् भन्दा पनि यी एप कसरी बनाइएका छन्, यिनमा प्रयोगकर्तालाई स्क्रिनमै अड्काइरहने प्रविधि राखिएको छ/छैन वा मानसिक स्वास्थ्य समस्याका लागि यी एप जिम्मेवार छन् कि छैनन् भन्नेबारे ६ देखि ८ साता लामो ‘जुरी ट्रायल’ हुने भएको हो ।
यस सुनुवाइका क्रममा फेसबुक र युट्युबका प्रमुखले न्यायाधीश र जुरी (सर्वसाधारण नागरिकको एउटा समूह) समक्ष बयान दिनुपर्नेछ । ‘केजीएम’ नाम दिइएको क्यालिफोर्नियाकी १९ वर्षीया किशोरीले सामाजिक सञ्जाल प्लाटफर्मले गर्दा आफू मानसिक रूपमा गम्भीर किसिमले बिमारी परेको भन्दै मुद्दा दायर गरेपछि अदालतले यसको गहिराइमै पुग्ने गरी सुनुवाइ प्रक्रिया अघि बढाउने तय गरेको हो ।
पहिलो पटक सामाजिक सञ्जाल प्लाफर्मको ‘डिजाइन आर्किटेक्चर’ माथि हुन लागेको यस्तो विस्तृत बहसलाई ऐतिहासिक मानिएको छ । मंगलबारदेखि जुरी छनोट प्रक्रिया सुरु भएको र यो मुद्दा किनारा लागे यस्तै प्रकृतिका २६ सयभन्दा धेरै मुद्दाका लागि नजिर बन्ने लस एन्जलस टाइम्समा पत्रकार सोन्जा सार्पले लेखेकी छन् ।
पीडित केजीएमले २०२३ मा दायर गरेको मुद्दामा ६ वर्षको उमेरदेखि आफूले युट्युब हेर्ने गरेको, ९ वर्षको हुँदा इन्स्टाग्राममा रमाउन थालेको तर त्यो रमाइलो क्रमशः कुलतमा बदलिएको उल्लेख गरेकी छन् । त्यसपछि आफू डिप्रेसन, सेल्फ–हार्म (आत्महानि) र आत्महत्याको सोचबाट गुज्रिनुपरेको उनले प्रारम्भिक सुनुवाइका क्रममा अदालतसमक्ष बयानमा बताएकी थिइन् ।
सामाजिक सञ्जाल प्लाटफर्मले एकपछि अर्को भिडियो निरन्तर देखाएर प्रयोगकर्तालाई स्क्रिनमा अड्काइरहने, उत्सुक बनाइरहने, केही छुट्यो कि भन्ने भाव सिर्जना गरिदिने गरी अल्गोरिदम, एआई र रेकमेन्डेसन प्रविधि विकास गरेको उनले बताउँदै आएकी छन् । एपहरूको डिजाइन नै प्रयोगकर्ताको ध्यान तान्ने गरी बनाइएको हुँदा आफू त्यसकै पासोमा परेको उनको तर्क छ ।
‘माध्यमिक विद्यालयमा छँदा कक्षाकोठा वा अन्य ठाउँमा फोन चलाउन नपाइने भएकाले म सुटुक्क काउन्सिलरको अफिसमा गएर एकछिन भए पनि लुकेर फोन चलाउँथें,’ केजीएमले बयानमा भनेकी छन्, ‘त्यसरी सामाजिक सञ्जाल एप चलाएकामा अहिले पछुतो लाग्छ ।’
किशोरीकी आमाले अदालतमा बुझाएको कागजपत्रमा पनि ‘छोरीको हातबाट फोन खोस्दा उनी कसैको मृत्यु भएझैं गरी ह्वाँह्वाँ रुने र चिच्याउने गर्थिन्’ भन्ने उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुर्ती–चुरोट अम्मलीलाई जस्तै सोसल मिडिया प्रयोगकर्तालाई छिनछिनमा एप खोल्ने तलतल हुने केजीएमको अनुभव छ । आफूलाई डिप्रेसनको समस्या देखिनु र आत्महत्याको सोच आउनुमा उनले सामाजिक सञ्जाल एपहरूलाई नै मुख्य जिम्मेवार ठहर्याएकी छन् ।
यस मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा ठीक अघि, टिकटकले भने गोप्य रूपमा उनीसँग मिलापत्र गरिसकेको रोयटर्सले जनाएको छ । यसअघि स्न्यापच्याटको प्यारेन्ट कम्पनी स्न्यापले पनि पीडित किशोरीसँग सम्झौता गरेर ट्रायलबाट बाहिरिने निर्णय गरेको थियो । मिलापत्रका विवरण भने सार्वजनिक भइसकेका छैनन् ।
यो कानुनी लडाइँमा अब फेसबुकको प्यारेन्ट कम्पनी मेटा र गुगलको युट्युब भने प्रतिवादीका रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ । बीबीसीको अमेरिकास्थित प्रविधि संवाददाता लिली जमालीका अनुसार जुरीले प्रविधि कम्पनीहरूको जवाफदेहिता तय गर्ने यो इतिहासकै पहिलो विशेष सुनुवाइ हो । ‘यी कम्पनीहरूले लुकाउन खोजेका थुप्रै आन्तरिक दस्ताबेजहरू अब अदालतमा सार्वजनिक हुनेछन्, यो आफैँमा महत्त्वपूर्ण छ,’ बीबीसीसँगको कुराकानीमा क्याथोलिक विश्वविद्यालयकी प्राध्यापक म्यारी ग्र लेयरीले भनेकी छन् ।
यस मुद्दामा टेक जायन्टहरूले नियोजित रूपमै बालबालिका र किशोरकिशोरीलाई स्क्रिनमा भुलिने लत लाग्ने गरी एप बनाएको आरोप लगाइएको र एपको अल्गोरिदम र बनावटलाई नै निशाना बनाइएको हुँदा यो चाखलाग्दो विषय भएको द गार्जियनकी पत्रकार दारा केरले उल्लेख गरेकी छन् ।
उनका अनुसार कानुनी रूपमा यस मुद्दालाई इन्टरनेट प्रविधि नियमन गर्ने कम्युनिकेसन्स डिसेन्सी एक्टको ‘सेक्सन २३०’ खारेज वा संशोधन गर्ने प्रयासका रूपमा हेरिएको छ । सो धाराले अमेरिकामा अनलाइन प्लाटफर्महरूलाई व्यापक कानुनी संरक्षण प्रदान गरेको भन्दै आलोचना हुने गरेको छ ।
यसमा सोसल मिडिया प्रयोगकर्ताले पोस्ट गरेका कन्टेन्टको जवाफदेही प्लाटफर्म नहुने, प्लाटफर्महरूलाई परम्परागत सञ्चारमाध्यमका प्रकाशकजस्तो नभएर तटस्थ मध्यस्थकर्ताका रूपमा हेरिनुपर्ने आशय उल्लेख छ ।
केजीएमको मुद्दाका सन्दर्भमा वादी पक्षको तर्क भने फेसबुक, युट्युब, टिकटक र स्न्यापजस्ता प्लाटफर्महरूले लत लाग्ने अल्गोरिदम र फिचरहरू जानाजानी डिजाइन गरेको हुँदा उनीहरूलाई धारा २३० को कानुनी सुरक्षा उपलब्ध छैन । यी प्लाटफर्म हानिकारक कन्टेन्ट प्रदायक मात्र नभएर ‘को–क्रिएटर’ वा ‘सूचना सामग्री प्रदायक’ बनिसकेको केजीएम पक्षको दाबी छ । यसमा ‘लत लाग्ने अल्गोरिदम वा प्रविधिलाई’ कुनै वस्तु वा पदार्थको लत नभई मनोवैज्ञानिक लत (बिहाभियरल एडिक्सन) का रूपमा अर्थ्याइएको छ । बारम्बार फोन हेर्न मन लाग्ने, लाइक/लभ धेरै आउँदा खुसी लाग्ने तर कम आउँदा चिन्तित हुने, घण्टौं फोनमा बिताउने जस्ता अम्मल यसमा पर्छन् ।
अल जजिराका अनुसार यो लडाइँलाई सन् १९९० को दशकमा सुर्तीजन्य उद्योग (बिग टोबाको) विरुद्ध चलाइएको कानुनी अभियानसँग तुलना गरिएको छ । त्यो बेला सुर्तीजन्य कम्पनीहरूले चुरोटको लतबारे थाहा पाएर पनि लुकाएझैं सामाजिक सञ्जाल कम्पनीहरूले अहिले बालबालिकालाई जानाजान लतमा फसाइरहेको दाबी गरिएको छ ।
प्रविधि कम्पनीहरूले प्रयोगकर्तालाई अल्झाउन प्रयोग गर्ने शैलीलाई क्यासिनोका ‘स्लट मेसिन’ र चुरोट उद्योगका प्रविधिसँग दाँजिएको छ । सोसल मिडियाका ‘पुल टु रिफ्रेस’ फिचरले जुवाघरका स्लट मेसिनको जस्तो काम गर्ने कतिपयको तर्क छ ।
‘जुवा खेल्ने मेसिनमा लिभर तान्दा ‘यसपालि त जितिन्छ कि’ भन्ने आस भएझैं इन्स्टाग्राम वा टिकटकमा ‘पुल–टु–रिफ्रेस’ गर्दा ‘अब केही नयाँ वा रोचक कन्टेन्ट आउँछ कि’ भन्ने आस हुने मानिन्छ । सोसल मिडिया कम्पनीहरूले विज्ञापनबाट नाफा कमाउन नियोजित रूपमै यस्तो ‘लत लाग्ने’ डिजाइन तयार पारेको केजीएम पक्षको दाबी छ ।
यो मुद्दामा किशोरीको जित भए, कम्पनीहरूले अर्बौँ डलर क्षतिपूर्ति तिर्नुपर्ने त छँदै छ सामाजिक सञ्जाल प्लाटफर्मको डिजाइनमै व्यापक परिवर्तन आउने सम्भावना देखिने विज्ञहरूले औँल्याएका छन् । प्लाटफर्महरूलाई प्रोडक्टड डिजाइनरका रूपमा जिम्मेवार ठहर्याउन सकिने, किशोर–किशोरीका लागि थप बलिया नियम लागू हुनेजस्ता सम्भावनाबारे पनि चर्चा भइरहेको छ ।
युट्युबका प्रवक्ता जस कास्टानेडाले प्लाटफर्ममाथि लगाइएका आरोप सत्य नभएको र पुष्टि नहुने प्रतिक्रिया दिएका छन् । बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जाल कम्पनीहरूले पर्याप्त नयाँ फिचरहरू ल्याएको उनको दाबी छ । स्यान्टा क्लारा विश्वविद्यालयका कानुन विषयका प्राध्यापक एरिक गोल्डम्यानले सामाजिक सञ्जाल प्लाटफर्महरूको आफू प्रशंसक भए पनि ती सित्तैमा प्राप्त नहुने र तिनले हानि गर्ने बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा बालबालिका र किशोर–किशोरीको उपस्थिति र त्यसले पार्ने प्रभावबारे विश्वभर बहस भइरहेको छ । कतिपय देशले यस्ता एपहरूमा धमाधम उमेर हद तोक्न थालेका छन् । अस्ट्रेलियाले सबैभन्दा पहिला गत डिसेम्बरदेखि यस्तो उमेर हद तोक्दै १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई पहुँच दिए प्लाटफर्म सञ्चालकलाई सवा तीन करोड अमेरिकी डलरसम्म जरिवाना गरिने कानुन कार्यान्वयनमा ल्याएको थियो ।
त्यसयता फ्रान्स, इजिप्ट, मलेसिया, डेनमार्कलगायत देशले पनि अस्ट्रेलियाकै जस्तो प्रतिबन्ध लागू गरेका छन् । इजिप्टको संसद्ले यसै साता किशोर–किशोरीहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानुन बनाउने तयारी थालेको छ ।
सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियन्त्रण गर्ने उपाय खोज्ने बताएका छन् ।
हालै मात्र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युट र अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीले तयार पारेको अध्ययनले बालबालिकाहरूमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता (कन्सन्ट्रेसन लेभल) मा क्षति पुर्याइरहेको देखाएको थियो ।
सामाजिक सञ्जालका कारण बालबालिकामा ‘एटेन्सन डिफिसिएट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) का घटना बढ्दै गरेको अनुसन्धाताहरूको दाबी छ । एडीएचडी बालबालिकामा हुने एक सामान्य मस्तिष्क रोग हो जसले ध्यान केन्द्रित गर्न समस्या निम्त्याउँछ ।
सिंगापुरको एजेन्सी फर साइन्स, टेक्नोलोजी एन्ड रिसर्च र नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्रमुख वैज्ञानिकहरूले सार्वजनिक गरेको अध्ययनमा पनि प्रारम्भिक दुई वर्षमा धेरै स्क्रिन हेर्ने बालबालिकामा आफूले देखेको कुरा बुझ्ने र त्यसमा प्रतिक्रिया दिनेसँगै स्नायु सञ्जालसँग जोडिएका विषयमा परिवर्तन देखिएको उल्लेख छ । अत्यधिक स्क्रिनको असरबाट ८ वर्ष पुग्दासम्म निर्णय लिने क्षमता ढिलो हुने तथा १३ वर्ष पुग्दासम्म चिन्ता र तनावसम्बन्धी लक्षण बढ्ने देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
